﻿उत्पत्ति.
5.
आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । 
उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो । 
आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे । 
आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
आदम ९३० वर्ष बाँचे अनि तिनी मरे । 
शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए । 
तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
शेत ९१२ वर्ष बाँचे र तिनी मरे । 
एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए । 
तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
एनोश ९०५ वर्ष बाँचे र तिनी मरे । 
केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए । 
तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
केनान ९१० वर्ष बाँचे र तिनी मरे । 
महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए । 
तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे । 
येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए । 
तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
येरेद ९६२ बाँचे र तिनी मरे । 
हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए । 
हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे । 
तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो । 
मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए । 
तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे । 
लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए । 
तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।” 
लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 
लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे । 
नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए । 
