﻿उत्पत्ति.
10.
यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे । 
गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए । 
अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए । 
एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए । 
यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए । 
कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए । 
सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए । 
कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए । 
तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी ।” 
तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए । 
तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह, 
र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो । 
मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही 
पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने । 
कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती, 
यबूसी, एमोरी, 
गिर्गाशी, हिव्वी, अरकी, सिनी, 
अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए । 
कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो । 
तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए । 
येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए । 
एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए । 
ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए । 
अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने । 
एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो । 
योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, 
हदोरम, ऊजाल, दिक्ला, 
ओबाल, अबमाएल, शेबा, 
ओपीर, हवीला योबाबका पिता बने । 
तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो । 
तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए । 
तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए । 
