﻿प्रस्थान.
20.
परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः 
“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ । 
मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू । 
आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू । 
तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु । 
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु । 
परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ । 
मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू । 
तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ । 
तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् । 
किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो । 
आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् । 
कसैको हत्या नगर्नू । 
कसैसित व्यभिचार नगर्नू । 
कसैबाट केही नचोर्नू । 
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू । 
आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।” 
सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे । 
तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।” 
मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्‍वर ओर्लनुभएको छ ।” 
त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्‍वर हुनुभएको बाक्लो बादलको नजिक गए । 
परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ । 
तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू । 
मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु । 
तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ । 
तिमीहरूको नग्‍नता नदेखियोस् भनेर खुट्‌किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू । 
