﻿व्यवस्था.
5.
मोशाले सारा इस्राएलीलाई बोलाएर भने, “हे इस्राएल हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्‍न सक । 
परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो । 
परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्‍नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्‍नुभयो । 
पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो । 
त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्‍नुभयो, 
'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । 
तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू । 
आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू । 
तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु । 
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउने छु । 
परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ । 
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू । 
तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ । 
तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् । 
तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्‍वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्‍नू । त्यसकारण, शबाथ-दिन मान्‍न परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ । 
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् । 
हत्या नगर्नू । 
व्यभिचार नगर्नू । 
चोरी नगर्नू । 
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू । 
आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।' 
परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो । 
पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ । 
तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा र उहाँको महान्‌ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्‍वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ । 
तर हामी किन मर्ने ? किनकि यो महाअग्‍निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ । 
किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला ? 
जानुहोस् र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुहुने हरेक कुरो सुन्‍नुहोस् । परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई भन्‍नुहुने हरेक कुरो हामीलाई दोहोर्‍याउनुहोस् । हामी यसलाई सुन्‍ने छौँ र पालन गर्ने छौँ ।' 
तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्‍नुभयो । उहाँले मलाई भन्‍नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए । 
मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्‍ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो । 
गएर तिनीहरूलाई भन्, 'तिमीहरूका पालहरूमा फर्क ।' 
तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।' 
त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर । 
तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् । 
