﻿न्यायकर्ताहरूको पुस्तक.
1.
यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्‍नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ ?” 
परमप्रभुले भन्‍नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।” 
यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्‍न सक्‍छौं । त्‍यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए । 
यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्‍जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे । 
तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्‍जीहरूलाई परास्त गरे । 
तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए । 
अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बाटुल्‍थे । मैले जस्तो गरेको थिएँ, परमेश्‍वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे । 
यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए । 
त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए । 
यहूदा हेब्रोनमा बस्‍ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे । 
त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) । 
कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।” 
कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए । 
चाँडै नै अक्सा ओत्‍निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्‍छु?” 
तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए । 
मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्‍थानमा त्यहाँका मानिसहरूसँग बस्‍न गए, जुन नेगेवमा पर्छ । 
यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे । त्यस सहरको नाउँ होर्मा थियो । 
यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे । 
परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए । 
कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले । 
तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् । 
योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो । 
तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो) । 
ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।” 
उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए । 
तब त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्‍यो अनि त्यसलाई लूज नाउँ दियो, र आजसम्मै त्‍यसको नाउँ हो । 
मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्‍ने पक्‍का गरेका थिए । 
जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् । 
एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे । 
जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए । 
आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् । 
यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् । 
नप्‍तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्‍तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्‍तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो । 
एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्‍ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् । 
यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्‍यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो । 
एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो । 
