﻿२ शमूएल.
22.
त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो । 
तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ । 
परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्‍तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ । 
म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्‍ना शत्रुहरूबाट बचाइने छु । 
किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो । 
चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे । 
मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो र सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो । 
त्यसपछि पृथ्वी काम्‍यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्‍वर रिसाउनुभएको थियो । 
उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए । 
उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो । 
उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो । 
उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्‍नो वरिपरिको पाल बनाउनुभयो । 
उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे । 
परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्‍चले कराउनुभयो । 
उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो । 
अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए । 
उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो । 
मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए । 
मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो । 
उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो । 
परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ । 
किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन । 
किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट म तर्केको छैन । 
म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु । 
यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्‍टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ । 
विश्‍वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ । 
शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ । 
कष्‍टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ । 
किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ । 
किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्‍वरद्वारा म पर्खाल नाघ्‍न सक्छु । 
परमेश्‍वरको सम्‍बन्‍धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ । 
किनभने परमप्रभुबाहेक को परमेश्‍वर छ र, अनि हाम्रो परमेश्‍वरबाहेक को चट्टान छ र? 
परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ । 
उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ । 
उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् । 
तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ । 
तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन् । 
मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ । 
मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् । 
तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो । 
तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें । 
तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन । 
मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ । 
मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् । 
विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे । 
विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर काम्‍दै आए । 
परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस् । 
उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ जसले मेरो बदला लिनुहुन्‍छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ । 
मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ । 
यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु । 
परमेश्‍वर आफ्‍नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्‍नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्‍नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।” 
