﻿नहेम्याह.
11.
मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे । 
तब राजीखुसीले यरूशलेममा बस्‍ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए । 
यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे । 
यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए । 
शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए । 
यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए । 
बेन्‍यामीनका सन्‍तानहरू यी नै हुन्: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए, 
र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै– सबै जम्‍मा ९२८ जना थिए । 
जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्‍सेनूअका छोरा यहूदा दोस्रो जिल्‍लाको हेर-विचार गर्ने अधिकृत थिए । 
पूजाहारीहरूबाट: यदायाह, योयारीबका छोरा, याकीन, 
सरायाह, जो हिल्‍कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्‍वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए, 
र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए । 
तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्‍मा २४२ जना थिए । अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए, 
र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए– सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए । 
लेवीहरूबाट: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो बुन्‍नीका छोरा थिए । 
लेवीहरूका दुई जना अगुवाहरू सब्‍बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्‍मावाल थिए । 
मत्तन्‍याह, जो मीयकाका छोरा, जो जब्‍दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्‍तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए । अब्‍दा, जो शम्‍मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । 
पवित्र सहरमा लेवीहरूको सङ्ख्‍या जम्‍मा २८४ थियो । 
द्वारपालहरू: अक्‍कूब, तल्‍मोन र तिनीहरूका सहयोगीहरू सबै जम्‍मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्‍थे । 
बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा बसे । 
मन्‍दिरका सेवकहरू ओफेल डाँडामा बसे, अनि सीहा र गिश्‍पा तिनीहरूका जिम्‍मावाल थिए । 
यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए । उज्‍जीचाहिँ आसापका सन्‍तान थिए । ती आसापका सन्‍तानहरू परमेश्‍वरको मन्दिरका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए । 
तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो । 
मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए । 
गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू, 
येशूअ, मोलादा, बेथ-पालेत, 
हसरशूआल, बेर्शेबा र त्‍यसका गाउँहरू, 
सिक्‍लग, मकोना र त्‍यसका गाउँहरू, 
एन-रिम्‍मोन, सोरा, यर्मूत, 
जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे । 
बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका गाउँहरू, 
अनातोत, नोब र हननिया, 
हासोर, रामा, गित्तैम, 
हादीद, सबोयीम, नबलत, 
लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे । 
यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए । 
