﻿अय्यूब.
10.
म आफ्‍नो जीवनदेखि थाकित छु । म आफ्‍नो गुनासो स्‍वतन्‍त्र भएर पोखाउनेछु । म आफ्‍नो प्राणको तिक्ततामा बोल्नेछु । 
म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् । 
आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ ? 
के तपाईंका मासुका आँखा छन् ? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ ? 
के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्, 
तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ, 
म दोषी छैनँ भनी तपाईं जान्‍नुहुन्‍छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्‍छ ? 
तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्‍ट पार्दै हुनुहुन्छ । 
म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्‍झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्‍याउनुहुन्छ ? 
के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन, अनि पनीरझैं जमाउनुभएको छैन ? 
तपाईंले मलाई छाला र मासुले ढाक्‍नुभएको छ, अनि हड्‍डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको छ । 
तपाईंले मलाई जीवन र करारको विश्‍वस्तता दिनुभएको छ । तपाईंको मदतले मेरो आत्माको रक्षा भएको छ । 
तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो । तपाईंले यस्तो सोच्दै हुनुहुन्थ्यो भनी म जान्‍दछुः 
मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न । 
मैले दुष्‍टतासाथ काम गरेको भए, मलाई धिक्‍कार छ ! र मैले धार्मिकतासाथ काम गरे पनि, मैले आफ्‍नो शिर ठाडो पार्न सकिनँ, किनकि म अपमानले भरिएको छु— मेरो कष्‍ट हेर्नुहोस् । 
मेरो शिर ठाडो पारिएको भए, सिंहले झैं तपाईंले मलाई सिकार बनाउनुहुन्‍थ्‍यो । अनि तपाईंले फेरि पनि मेरो विरुद्धमा शक्तिका आश्‍चर्यपूर्ण कामहरूले आफूलाई देखाउनुहुन्‍थ्‍यो । 
तपाईंले मेरो विरुद्धमा नयाँ साक्षीहरू ल्याउनुहुन्छ, र मेरो विरुद्धमा आफ्नो रिस बढाउनुहुन्छ । तपाईंले मलाई नयाँ फौजले आक्रमण गर्नुहुन्छ । 
त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ ? मैले आफ्‍नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो । 
म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्‍थें । म गर्भबाट नै चिहानमा लगिन्‍थें । 
के मेरा दिनहरू थोरै मात्र छैनन् र ? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ, 
जहाँबाट म कहिलै फर्कन्‍न त्‍यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा, 
मध्यरात जस्‍तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्‍यालो नै मध्यरातजस्तो हुन्‍छ ।’” 
