﻿अय्यूब.
30.
अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् । यी जवान मानिसहरूका बुबाहरूलाई आफ्‍नो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें । 
वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्‍देरी उमेरको बल नष्‍ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो र ? 
गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए । उजाडस्‍थान र मरुभूमीमा अँध्‍यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे । 
तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए । 
तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे । 
त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो । 
झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्‍मा हुन्थे । 
तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए । कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो । 
तर अहिले म तिनीहरूको गिल्लाको गितको विषय बनेको छु । म तिनीहरूका लागि उखान भएको छु । 
तिनीहरू मलाई घृणा गर्छन्, र मबाट टाढा रहन्छन् । मेरो मुखमा थुक्‍नबाट तिनीहरू रोकिंदैनन् । 
किनकि परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्‍ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् । 
मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्‍ना घेरा-मचान बनाउँछन् । 
तिनीहरूले मेरो मार्ग नष्‍ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्‍ने कोही छैन । 
सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् । 
त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ । 
अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्‍टका धेरै दिनहरूले मलाई समातेका छन् । 
रातमा मभित्र भएका हड्‍डीहरूले मलाई घोच्‍छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् । 
परमेश्‍वरको महान् शक्तिले मेरो वस्‍त्र समातेको छ । मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ । 
उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ । म धूलो र खरानीझैं भएको छु । 
हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न । म खडा हुन्छु, तर तपाईंले हेर्नु मात्र हुन्छ । 
तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्‍नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ । 
तपाईंले मलाई बतासमा उचाल्‍नुहुन्छ र त्‍यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्‍याउनुहुन्छ । 
किनकि म जान्‍दछु, कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ । 
तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र ? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र ? 
कष्‍टमा भएको व्यक्तिको लागि म रोइनँ र ? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र ? 
जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्‍यसको साटो अन्धकार आयो । 
मेरो हृदय कष्‍टमा छ र यसले विश्राम लिंदैन । कष्‍टका दिनहरू ममाथि आएका छन् । 
अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु । 
म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु । 
मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्‍डीहरू रापले जलेका छन् । 
त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ, र मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ । 
