﻿भजनसंग्रह.
45.
असल विषयले मेरो हृदय भरिएर पोखिन्छ । राजाको बारेमा मैले लेखेका शब्दहरू म ठुलो सोरले पढ्‍नेछु । मेरो जीब्रो तयार लेखको कलम हो । 
मानवजातिका सन्तानभन्दा तपाईं सुन्‍दर हुनुहुन्छ । तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ । यसकारण परमेश्‍वरले तपाईंलाई सदाको निम्ति आशिष्‌‌‌ दिनुभएको छ भनी हामी जान्दछौं । 
हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् । 
विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन् । 
तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्‍छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् । 
हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो । 
तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्‍वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ । 
तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्‍छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ । 
राजाकी छोरीहरू तपाईंका आदरनिय स्‍त्रीहरूका माझमा हुन्‍छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन् । 
हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स । 
यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्छ । उहाँलाई आदर गर । 
टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन् । मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्‍नेछन् । 
दरवारका छोरी सह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ । 
बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ । तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन् । 
तिनीहरूलाई खुसी र रमाहटले डोर्‍याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्‍नेछन् । 
तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ । 
म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् । 
