﻿भजनसंग्रह.
48.
परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ । 
महान् राजाको सहरको उत्तरमा अवस्‍थित सियोन पर्वत उच्‍च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो । 
त्‍यसका दरबारहरूमा परमेश्‍वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ । 
हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे । 
जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए । 
कम्‍पले तिनीहरूलाई समात्‍यो, प्रसव वेदना परेकी स्‍त्रीझैं पीडित भए । 
पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ । 
सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्‍वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला 
हे परमेश्‍वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्‍वस्‍तताका बारेमा विचार गरेका छौं । 
हे परमेश्‍वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ । 
तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्‍दित होऊन् । 
सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्‍ती गर, 
त्यसका पर्खालहरू ध्‍यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्‍छौ । 
किनकि यही परमेश्‍वर सदासर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ । 
