﻿भजनसंग्रह.
59.
हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् । 
अधर्म गर्नेहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् र रक्‍तपिपासु मानिसहरूबाट मलाई बचाउनुहोस् । 
हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन । 
म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्‍नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् । 
हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाई जाग्‍नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्‍ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला 
तिनीहरू साँझमा फर्कन्छन्, तिनीहरू कुकुरहरूझैं कराउँछन् र सहरका वरिपरि जान्छन् । 
हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्‍छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, “हाम्रा कुरा कसले सुन्छ?” 
तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ । 
हे परमेश्‍वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ । 
मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ । 
तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् । 
तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति । 
तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्‍वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्‍य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला 
तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् । 
तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्‍त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् । 
तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्‍टको समय तपाईं मेरो उच्‍च धरहरा र शरणस्थान हुनुभएको छ । 
हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्‍वरचाहिं मेरो उच्‍च धरहरा, करारको विश्‍वस्‍तताको परमेश्‍वर हुनुहुन्छ । 
