﻿भजनसंग्रह.
61.
हे परमेश्‍वर, मेरो पुकारा सुन्‍नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् । 
मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस् । 
किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ । 
मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्‍न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला 
किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ । 
तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ । 
तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन् । 
तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्‍नो भाकल पुरा गर्न सकौं। 
