﻿भजनसंग्रह.
95.
आओ, परमप्रभुको निम्ति हामी गाऔं । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं । 
उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं । 
किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ । 
पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्‍चाइहरू उहाँकै हुन् । 
समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए । 
आओ, हामी आराधना गरौं र घोप्‍टो परौं । हाम्रा सृष्‍टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं । 
किनकि उहाँ हाम्रो परमेश्‍वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्‍नेछौ । 
“मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार, 
जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे । 
किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।' 
यसकारण मैले आफ्‍नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् । 
