﻿भजनसंग्रह.
107.
परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 
परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ । 
उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ । 
तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् । 
किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए । 
तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 
उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् । 
परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 
किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ । 
कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे । 
तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो । 
उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन । 
तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 
उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो । 
परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 
किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ । 
आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे । 
तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे । 
तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 
उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 
परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 
तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् । 
केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् । 
यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे । 
किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो । 
तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो । 
तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो । 
तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो । 
उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्‍त भए । 
तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो । 
परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्! 
तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् । 
उहाँले नदीहरूलाई उजाडस्‍थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा, 
र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ । 
उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ । 
भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् । 
खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् । 
उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न । 
पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए । 
उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्‍थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन । 
तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ । 
सोझो मन भएकाहरूले यो देख्‍नेछन् र आनन्‍दि हुनेछन् । सबै दुष्‍टताले आफ्‍नो मुख बन्द गर्छ । 
बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्‍याल गर्नुपर्छ र परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्नुपर्छ । 
