﻿भजनसंग्रह.
135.
परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । 
तिमीहरू जो परमप्रभुको मन्‍दिरमा, हाम्रा परमेश्‍वरको मन्‍दिरको चोकहरूमा खडा हुन्‍छौ । 
परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्‍तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो । 
किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्‍पत्तिको रूपमा रोज्‍नुभएको छ । 
परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ । 
परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ । 
उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ । 
उहाँले मिश्रदेशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो । 
उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो । 
उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो, 
एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई । 
तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो । 
हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ । 
किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्‍ना सेवकहरूमाथि दया देखाउनुहुन्छ । 
जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् । 
ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् । 
तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ । 
तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति हुन्छ । 
हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर । 
हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर । 
सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर । 
