﻿भजनसंग्रह.
138.
आफ्‍नो सारा हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । देवताहरूका सामु म तपाईंको प्रशंसाका गीतहरू गउनेछु । 
तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्‍नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ । 
मैले तपाईंलाई पुकारा गरेको दिन तपाईंले मलाई जवाफ दिनुभयो । तपाईंले मलाई साहसी बनाउनुभयो र मेरो प्राणलाई बलियो पार्नुभयो । 
हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् । 
वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ । 
किनकि परमप्रभु उच्‍च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्‍ता गर्नुहुन्‍छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्‍नुहुन्छ । 
म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्‍नुहुन्छ । मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्‍नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ । 
परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्‍नुहोस् । 
