﻿हितोपदेश.
5.
हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप । 
यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ । 
किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ । 
तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ । 
त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । 
त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन । 
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क । 
तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ । 
यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ । 
परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन । 
तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ । 
तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो! 
मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ । 
सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।” 
आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू । 
के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने ? 
ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् । 
तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् । 
किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् । 
हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने ? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने ? 
मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ । 
दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ । 
निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ । 
