﻿हितोपदेश.
10.
सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ । 
दुष्‍टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ । 
परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ । 
अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ । 
बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ । 
परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्छ । 
धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्‍टहरूको नामचाहिँ सडेर जाने छ । 
संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ । 
निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ । 
द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ । 
धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्छ । 
घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ । 
बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो । 
बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ । 
धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो । 
धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ । 
अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ । 
घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो । 
जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो । 
धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्छ । 
धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् । 
परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न । 
दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो । 
दुष्‍ट व्यक्तिको डरले त्यसलाई उछिन्‍ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ । 
दुष्‍टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो । 
दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ । 
परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्‍टको आयु छोटिने छ । 
धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्‍ट मानिसहरूको आयु छोटिने छ । 
परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो । 
धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्‍टचाहिँ पृथ्वी रहने छैन । 
धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ । 
धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ । 
