﻿मत्तीले लेखेको सुसमाचार.
1.
दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक । 
अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए । 
यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए । 
आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए । 
सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए, 
यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्‍नीद्वारा सोलोमनका पिता थिए । 
सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए । 
आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए । 
उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए । 
हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता थिए । 
बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए । 
र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए । 
यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए । 
आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए । 
एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए । 
याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्‍ट भनिन्छ । 
अब्राहामदेखि दाऊदसम्म जम्मा पुस्ता चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्‍टसम्म चौध पुस्ता थिए । 
येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो । 
तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे । 
जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो । 
तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” 
अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए, 
“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।” 
योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्‍नीको रूपमा स्वीकारे । 
तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् । र उनले उहाँको नाउँ येशू राखे । 
