﻿मत्ती.
27.
अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे । 
तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए । 
त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो, 
र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार ? तिमी आफैँ जान ।” 
अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो । 
ती मुख्य पुजारीहरूले चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।” 
तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने । 
यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ । 
यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पुरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तिसवटा सिक्‍का तिनीहरूले लिए, 
र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।” 
अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ ?” 
तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन । 
अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ ?” 
तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण, ती हाकिम बडो आश्‍चर्यचकित भए । 
अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो । 
त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो । 
त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ ?” 
किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए । 
जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।” 
तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए । 
ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ ?” तिनीहरूले भने, “बारब्बा ।” 
पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।” 
र उनले भने, “किन, उनले के अपराध गरेका छन् ?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।” 
जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।” 
सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।” 
अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए । 
अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए । 
तिनीहरूले उहाँको वस्‍त्र खोलिदिए र उनलाई लाल वस्‍त्र लगाइदिए । 
तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम !” 
तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए । 
तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे । 
जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् । 
तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो । 
तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन । 
जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए । 
अनि तिनीहरू बसे र उहाँलाई हेरे । 
उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।” 
दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।” 
जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे, 
“तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल !” 
यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने, 
“उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ । 
उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’” 
र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे । 
अब मध्यान्‍नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो । 
तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी ?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ ?” 
जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदै छ ।” 
झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो । 
अरूहरूले चाहीँ भने, “उसलाई एकलै छोडिदेऊ । उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ ।” 
त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो । 
हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए । 
चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए । 
उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे । 
अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।” 
गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै महिलाहरूले टाढाबाट त्यो हेरिरहेका थिए । 
तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए । 
जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए । 
तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए । 
योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे, 
र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए । 
मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए । 
अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए । 
तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’ 
त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।” 
पिलातसले तिनीहरूलाई भने, “एक जना पहरेदार लेऊ । जाऊ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।” 
त्यसैले, तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे । 
