﻿मर्कूस.
3.
उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो । 
उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । 
येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” 
तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ ?” तर उनीहरू चुप लागे । 
तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो । 
तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे । 
तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया, 
यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो । 
भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् । 
किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए । 
जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” 
उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो । 
उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए । 
उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्, 
अनि भूतहरूलाई निकाल्ने अधिकार होस् । 
अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो; 
जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो; 
अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी, 
अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो । 
तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए । त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन । 
जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग बिग्रेको छ ।” 
यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।” 
येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्‍टान्तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ ?” 
यदि राज्य आफैँमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्‍न सक्दैन । 
यदि घर आफैँमा विभाजित हुन्छ भने, त्यो घर टिक्‍न सक्दैन । 
यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्यो टिक्‍न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ । 
तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरमा पस्‍न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ । 
म तिमीहरूलाई साँचो साँचो भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्, 
तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ । 
येशूले यसो भन्‍नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “त्योसँग अशुद्ध आत्मा छ ।” 
उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए । 
एउटा भिड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।” 
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन् ?” 
उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन् !” 
जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।” 
