﻿मर्कूस.
15.
बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए । 
पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।” 
मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए । 
पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन् ?” 
तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे । 
अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे । 
विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए । 
भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले । 
पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ ?” 
किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो । 
तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए । 
पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त ?” 
तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् !” 
पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र ?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ।” 
पिलातसले भिडलाई सन्तुष्‍ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए । 
सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए । 
तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए । 
तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले । 
तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके । 
जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । 
तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए । 
सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) । 
तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन । 
तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए । 
तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो । 
तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।” 
तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि । 
टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८ अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो । 
त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा ! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त, 
आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ !” 
त्यसै गरी, मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन । 
इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे । 
छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो । 
नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी ?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको ?” भन्‍ने हुन्छ । 
त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।” 
कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।” 
तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो । 
मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो । 
जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।” 
त्यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए । 
उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए । 
जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले 
अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे । 
येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे । 
जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए । 
योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे । 
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए । 
