﻿लुका.
17.
येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ । 
उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो । 
आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर । 
यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ । 
प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।” 
प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ । 
तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।” 
मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र ? 
उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ ? 
तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।” 
यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो । 
एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए । 
र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” 
जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।” 
जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।” 
उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो । 
येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन् ? अरू नौ जना कहाँ गए ? 
के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र ? 
उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” 
फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन, 
न त तिनीहरूले भन्‍नेछन्, ‘यता हेर ! वा उता हेर !’ किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।” 
येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ । 
तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर ! उता हेर !’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ । 
आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ । 
तर उहाँ पहिले विभिन्‍न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ । 
यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् । 
नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो । 
यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए । 
तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो । 
अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् । 
त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क । 
लोतकी पत्‍नीलाई सम्झ । 
जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ । 
म तिमीलाई भन्‍नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्‍नेछन् । 
तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ । 
(खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । ) 
तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु ?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।” 
