﻿यूहन्‍ना.
10.
“साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो । 
ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो । 
ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन् । 
उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।” 
तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितको सोर चिन्दैनन् ।” 
येशूले यो दृष्‍टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् । 
त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।” 
मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् । 
म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ । 
यदि चोरले नचोर्ने, नमार्ने र नष्‍ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् । 
म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ । 
भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् । 
त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन । 
म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् । 
पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु । 
मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् । 
त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ । 
यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।” 
यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो । 
तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ ?” 
अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्‍तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र ?” 
त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो । 
यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो । 
तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।” 
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् । 
तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ । 
मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्, म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन् । 
म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन । 
तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन । 
म र पिता एक हौँ ।” 
तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे । 
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ ?” 
यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्‍वर बनाइरहेका छौ ।” 
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्‍वरहरू हौ’ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन ?” 
यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो ? (अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन ।) 
के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ ? 
यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर । 
तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।” 
तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो । 
उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो । 
धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।” 
त्यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे । 
