﻿रोमी.
2.
यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । 
तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ । 
तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र ? 
अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ ? 
तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ । 
परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः 
अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । 
तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । 
परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि । 
तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि । 
किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । 
किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । 
किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । 
किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन । 
यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ । 
अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ । 
मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ, 
उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ । 
मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 
मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ । 
अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ ? 
तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ ? 
तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ ? 
किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।” 
यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ । 
यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र ? 
यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र ? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो । 
किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । 
तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ । 
