﻿प्रकाश.
9.
त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो । 
त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्‍डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो । 
धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो । 
पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो । 
तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्‍ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ । 
ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्‍नेछ । 
सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे । 
तिनीहरूका कपाल स्‍त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए । 
तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए । 
तिनीहरूका पुच्‍छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्‍ति थियो । 
गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्‍लियोन थियो । 
पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् । 
छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने । 
तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।” 
मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए । 
घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ । 
यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे । 
तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो । 
किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए । 
बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्; 
न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे । 
